चार महिनापछि फेवातालमा डुङ्गा सञ्चालन तर, बनाइयो यस्तो नियम

पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि सञ्चालनमा आएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदूर खुशी भएका छन् ।

निषेधाज्ञाका कारण घरमै बसेका उनीहरुमा पुनःव्यवसाय शुरु भएपछि उत्साह छाएको हो । फेवा डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष मङ्गल नेपालीले प्रशासनसँग समन्वय गरेर डुङ्गा व्यवसाय शुरु गरिएको र यात्रुलाई मास्क अनिवार्य गरिएको बताए ।

भीडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको उनले जानकारी दिए । यसअघि आठ/नौ जनासम्म राख्ने गरिएको थियो ।

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतिसमेत अहिले बन्द छ । डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ ।

फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् । निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यू प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट आफू पनि जोगिनु चुनौती रहेकाले मास्क नलगाउनेलाई डुङ्गा चढ्न रोक लगाउने बताइएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *