यी निर्दयी श्रीमान ! श्रीमती अर्कैसित बोलेपछि कान काटिदिए

कैलाली- बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर-१ भण्डार गाउँकी २१ वर्षीया जानकी नेपालीको बायाँ कान उनका २५ वर्षीय श्रीमान मनोजले काटिदिएका छन्। मनोजले जानकीमाथि कुटपिट गरी चक्कुले कान काटेका हुन्।

अस्पतालकी एक नर्सका अनुसार उनको कानको बीचको भागको चोक्टो नै छैन। मनोज प्राय: घरमा मदिरा सेवन गरेर आउँथे। गत बुधबार पनि मदिरा सेवन गरेर आएका मनोजले जानकीमाथि कुटपिट गरेका थिए। उनले बुधबार दिउँसो एक जना आफन्तसँग हाँसेको निहुँमा कुटेका थिए।

कान काटेपछि निकै असह्य भएर दुखेपछि आफू उठ्न नसकेको जानकीले बताइन्। कानबाट रगत निरन्तर बग्न थालेपछि श्रीमान त्यहाँबाट भागेका थिए।

उनीमाथि यस्तो पहिलो पटक भने भएको थिएन। पहिले पनि उनको शरीरमा चक्कुले काटेका दागहरू भएको बताइन्। शरीरको रगत बगेर कमजोर भएकी उनी दुब्ली देखिन्छन्। १५ वर्षको उमेरमा कक्षा ९ पढ्दा नै उनको विवाह भएको थियो। २१ वर्ष मात्रै भएकी उनका अहिले तीन छोराछोरी छन्।

अस्पतालमा कानको उपचार गरेपछि जानकी आइतबार डेढ वर्षे बच्चासहित अल्पकालीन महिला सुरक्षित आवास गृहमा पुगेकी छन्। कानको पट्टी फेरिरहनु पर्ने भएकाले उनले चैनपुरमै बस्नुपर्ने छ। डेरा गरी बस्न उनको आर्थिक क्षमताले नभ्याएपछि आफन्तले केही दिन बास दिन अनुरोध गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकीका आफन्तले घटनाबारे जाहेरी दिएको बताए। उजुरी प्राप्त भएपछि जानकीका श्रीमान मनोज पक्राउ परेका छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published.