
काठमाडौं– सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरूलाई कारबाही गरेको हो।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।
साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही थालेको हो।
महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो। शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो ।
बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ। बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म कारबाही भइरहेको छ।