अन्ततः माओवादी पनि सरकारमा, प्रदेश २ मा माओवादीका यी दुई सांसदलाई पर्‍यो चिठ्ठा

​जनकपुर- नेकपा (माओवादी केन्द्र) प्रदेश २ सरकारमा सहभागी भएको छ। शनिबार माओवादी केन्द्रका दुई जना मन्त्रीले शपथ लिएका छन्।

माओवादीका भरत साहले आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रूपमा प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनीयताको शपथ लिए भने आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री  रुवी कर्णले मुख्यमन्त्री राउतसमक्ष राज्यमन्त्रीको शपथ लिएकी हुन्।

साह प्रदेश सभा निर्वाचनमा महोत्तरी १ (ख) बाट निर्वाचित भएका थिए। त्यस्तै, कर्ण भने समानुपातिक तर्फबाट निर्वाचित भएकी हुन्। उनी सप्तरी हुन्।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपाका दुई मन्त्रीहरु ज्ञानेन्द्रकुमार यादव र सरोज सिंह कुशवहाले राजीनामा दिएका थिए। माओवादी केन्द्रलाई यसअघि नै सरकारमा सहभागी गराउने प्रयास गरिएको भएपनि मन्त्रालयको विषयमा कुरा मिलेको थिएन।

संघको सत्ता गठबन्धनमा फेरबदल आएपछि प्रदेश २ मा पनि फेरबदल आएको हो। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले केपी शर्मा ओलीलाई साथ दिएपछि उपेन्द्र यादव पक्षले ठाकुर-महतो पक्षका मन्त्रीलाई बर्खास्त गरिदिएको थियो।

मुख्यमन्त्री लालबाबु राउतले गत जेठ २३ गते ठाकुर-महतो पक्षका मन्त्रीहरु जितेन्द्र सोनल, डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई बर्खास्त गरेका थिए।

दुई बुँदे सहमतिपश्चात जेठ २६ गते कांग्रेसका तीन मन्त्रीले सपथ लिएका थिए। कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार यातायात, ओमप्रकाश शर्मा ऊर्जा तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका हुन्। कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय टुक्र्याए दशवटा बनाइएको थियो।

Recommended For You

Leave a Reply

Your email address will not be published.