कैलालीमा २ बालिका सामूहिक बलात्कार

१६ कात्तिक, टीकापुर

कैलालीको जानकी गाउँपालिका–५ अमौरी गाउँमा २ बालिका बलात्कारको सिकार भएका छन । कात्तिक ८ गते अष्टमीका दिन गाउँमा डीजेसहित युवा नाचगान रमाइलो गर्न गएका २ बालिका घर फर्कने क्रममा ९ बजेतिर सामूहिक बलात्कारमा परेका हुन्  । बलात्कृत बालिका १३ र १४ वर्षका हुन् ।

९ जनाको समूहमा रहेका केटाहरूले उनीहरूलाई घेरेर बलात्कार गरेका हुन् । एक बालिका घेरा हाल्ने केटामध्ये एक जनाको साथीकी बहिनी थिइन् । उनलाई साथीकी बहिनी भनेर छाडे । अर्कीलाई पनि चिनेकै भएर केही गरेनन् । दुई जनालाई बन्धक बनाए, सामान्य कुटपिट गरे । अरू दुई बालिकालाई भने खेतमा रहेको परालको थुप्रोमा लगी पालैपालो बलात्कार गरे ।आफ्ना साथीलाई खेतमा लगेर बलात्कार गरिरहेको देखेर बन्धक रहेकी एक बालिकाले घरमा एसएमएसमार्फत घटनाको जानकारी गराइन् । परिवारले वडाध्यक्षलाई खबर गरे ।

सामूहिक बलात्कारमा संलग्न युवा फरार छन तर बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ८ जनालाई घटनाकै राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–५ का १८ वर्षीय कृष्ण नगरकोटी र २२ वर्षीय मनोज चौधरी तथा लम्कीचुहा नगरपालिका–१ भुरुवाका १९ वर्षीय धीरेन्द्र विष्ट, १९ वर्षीय नरेश चौधरी, १८ वर्षीय रमेश शाही, १८ वर्षीय सत्यम रावल, २० वर्षीय रामबहादुर चौधरी र २१ वर्षीय महेश चौधरी छन् । १८ वर्षीय चन्द्र शाही फरार रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन घिमिरेले बताए । घटनास्थलबाट पीडितलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

८ जना अभियुक्तले घटनामा संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.