किताब त पाइयो, पढाइ कहिले सुरु हुन्छ ?

२९ असार, डोटी ।

डोटी केआईसिंह गाउँपालिका–४ की नेतृका खड्का स्थानीय झिमे मालिका माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्छिन् । उनले विद्यालयबाट पाठ्यपुस्तक त पाइन् तर विद्यालय कहिले खुल्ने भन्ने ठेगान छैन ।

बोगडान फुड्सिल गाउँपालिका–६ की पार्वती चन्द स्थानीय मष्टेश्वर मावि गगुडामा कक्षा ८ की छात्रा हुन् । विद्यालयबाट पाठ्यपुस्तक बुझ्दै गर्दा उनले सोधिन्, ‘पढाइ कहिलेबाट सुरु हुने हो ?’

जिल्ला सदरमुकाममै रहेको पद्म पव्लिक मुक्तीनारायण माविमा कक्षा ८ मा पढ्ने छात्र निर्मल रानाले किताव बोकेर घर त पुर्‍याए तर खोलेका छैनन् । उनले विद्यालय बन्द भएदेखि न किताब खोलेर हेरेका छन्, न कुनै अनलाइन कक्षामा सहभागी भएका छन् । अनलाइन कक्षाको विषयमा जानकारी पनि छैन, उनलाई । उनी भन्छन्, ‘विद्यालय छिटो खोलेक‍ो भए हुन्थ्यो, अनि हाम्रो पढाइ सुरु हुन्थ्यो ।’

पद्म पव्लिक माबिमै कक्षा १० मा पढ्ने प्रज्ज्वल सिंह कहिलेकाँही रेडियो र टेलिभिजनमा सञ्चालित कक्षा सुन्ने र हेर्ने गर्छन्, तर नियमितता छैन । उनी पनि विद्यालय खुल्ने पर्खाइमै छन् ।

नेतृका, पारवती, प्रज्ज्वल र निर्मल मात्रै होइनन्, पाठ्यपुस्तक पाएपछि अब पढाइ सुरु कहिले हुन्छ भन्ने प्रश्न धेरै विद्यार्थीहरुमा उब्जेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९) को त्रासले विद्यालयहरु गत फागुनमा हतार–हतारमा परीक्षा सकेर बन्द गरिएका थिए ।

वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुनु पर्ने थियो, तर अधिकांश विद्यालय क्वारेन्टिनमा परिणत हुँदा विद्यार्थीहरु भर्नासमेत हुन सकेका छैनन् । विद्यालयले अत्यावश्यक प्रशासनिक कार्यहरु समेत अन्तैबाट गर्नु परेको छ ।

अब विद्यालय छिटो खोलेर पढाइ सुरु हुनु पर्‍यो भन्ने माग राख्छन् विद्यार्थीहरु । विद्यालय शिक्षा परीक्षा (एसईई) मा राम्रै नतिजा ल्याउने सोचका साथ नेतृका विगतका कक्षाहरुमा कडा मेहनत गर्दै आएकी थिइन् । तर, एसईईकै तयारी गर्नु पर्ने वर्षमा शैक्षिक सत्रको पहिलो तीन महिना कक्षाकोठा समेत देख्न पाइनन् उनले ।

‘शैक्षिक सत्रको सुरुमै विद्यालय खुलेको भए अहिलेसम्म हाम्रो पहिलो त्रैमासिक परीक्षा भइसक्थ्यो,’ नेतृका भन्छिन्, ‘तर हामीले त यो वर्ष विद्यालय पनि देखेका छैनौं ।’

सरकारले सञ्चालन गरेको अनलाइन कक्षामा आफूहरुको पहुँच नभएको बताउँछिन्, उनी । भन्छिन्, ‘घरमा टिभी छैन, गाउँमा इन्टरनेट चल्दैन, रेडियो समेत राम्रोसँग सुनिदैन, अनि कसरी अनलाइन कक्षामा भाग लिने ?’

नेतृकाको जस्तै भनाइ छ पार्वतीको पनि । उनी भन्छिन्, ‘शैक्षिक सत्र सुरु भएको तीन महिना पूरा भइसक्यो, अब त हाम्रो पढाइ हुनुपर्छ ।’

पार्वतीलाई अनलाइन कक्षाबारे जानकारीसमेत छैन । ‘के हो यो अनलाइन कक्षा भनेको ?’ अनलाइन कक्षाबारे अनलाइनखबरको प्रश्नमा उनको प्रतिप्रश्न थियो । उनी घरमा बस्दाबस्दा आफूले पहिले पढेको पनि बिर्सिन थालेको बताउँछिन् ।

शिक्षकहरु भन्छन्– विद्यालय खोल्न सकिन्छ

महामारीबाट बच्ने सुरक्षाका विधिहरु अपनाएर विद्यालय खोल्न सकिने बताउँछन् बढीकेदार गाउँपालिका–३, घाङलमा रहेको वीरेन्द्र माविका प्रधानाध्यापक नन्दराम बुढामगर । उनले भने, ‘एउटै कक्षालाई समूहमा बिभाजन गरेर कक्षा कोठामा भौतिक दुरी कायम गर्न सकिन्छ ।’

उनले यसरी गर्दा विद्यार्थीहरुमा पढ्ने बानीको विकास हुने बताए । साबुन पानी, स्यानिटाइजर, मास्कको व्यवस्था गरेर विद्यालय सञ्चालनमा ल्याउनु पर्ने उनको धारणा छ । उनी थप्छन्, ‘विद्यार्थीहरुको बानी बिग्रिसकेको छ, यसबारे समयमै सोच्नु पर्छ ।’

सरकारले सञ्चालन गरेको अनलाइन कक्षामा सबैको सहज पहुँच नदेखिएको जिल्ला सदरमुकाममा रहेको पद्म पव्लिक मुक्तीनारायण माविका शिक्षक हिक्मत शाही बताउँछन् । उनले ग्रामिण क्षेत्रमा रेडियोसमेत राम्रोसँग नसुनिने गरेको बताए ।

उनी भन्छन्, ‘लामो समयसम्म विद्यालय बन्द गरिनु हुन्न, विद्यालयलाई क्वारेन्टिनमुक्त गरी सचेतता र सावधानीपूर्वक कक्षाहरु सन्चालन गरिनु पर्छ ।’ यसका लागि जोर–बिजोर वा यस्तै अन्य वैकल्पिक उपायको खोजी गरेर आलोपालो पठनपाठन सुरु गर्न सकिने उनी बताउँछन् ।

विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास बढेकाले अध्ययनको वैकल्पिक उपाय अपनाउनु पर्ने बताउँछन् के आई सिंह गाउँपालिका–४ मा रहेको झिमेमालिका माविका प्रधानाध्यापक नरबहादुर कार्की । उनी भन्छन्, ‘शिक्षकहरुलाई टोलटोलमा पठाएर निश्चित भौतिक दुरी कायम गरी खुला स्थानमा कक्षा सञ्चालन गर्न सकिन्छ ।’ उनी विद्यालयमै कक्षा सञ्चालन गर्न सकिने सम्भावना भने देख्दैनन् ।

अनलाइन कक्षाका नाममा सरकारले अनावश्यक हल्ला मात्रै गरेको कार्कीको बुझाइ छ । उनी भन्छन्, ‘न फोन छ, न रेडियो छ, न टिभी छ, न इन्टेरनेट छ, न अभिभावक/विद्यार्थीहरु त्यति सचेत छन्, अनि कसरी प्रभावकारी हुन्छ अनलाइन कक्षा ?’

निश्चित दूरी कायम गरेर विद्यालयमा पढाइ सञ्चालन गर्न सकिने देख्छन् शिखर नगरपालिकाका शिक्षा शाखा संयोजक शेरबहादुर कार्की । क्वारेन्टिनका लागि प्रयोग नभएका, केही समय क्वारेन्टिनका रुपमा प्रयोग भएका र अहिले पनि क्वारेन्टिन रहेका विद्यालयहरुलाई छुट्याएर तीन चरणमा विद्यालय खोल्नु पर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘क्वारेन्टिनका लागि प्रयोगै नभएका विद्यालयहरुमा तत्काल कक्षा सुरु गर्न सकिन्छ ।’ अरु ठाउँमा आवश्यक प्रक्रिया पुर्‍याएर विद्यालय खोल्न सकिने उनको भनाइ छ । उनी थप्छन्, ‘विद्यालय नआए पनि बालबालिकाहरु गाउँमा एकअर्कासँग घुलमिल भएकै छन्, सँगै रोपाइँ गरेकै छन्, सँगै पौडी खेलेकै छन्, छिमेकी गाउँ डुलेकै छन् भने विद्यालय ल्याउन के समस्या भयो र !’

उनले यो चार महिनाको अवधिमा पढ्नु पर्छ भन्ने समेत बच्चाहरुले बिर्सेको बताए ।

चिन्तित छन् अभिभावक पनि

लामो समय विद्यालय बन्द हुँदा छोराछोरीको भविश्य बिग्रिने चिन्तामा छन् अभिभावकहरु । आदर्श गाउँपालिका–४ मा रहेको प्रभात माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पछेरा भन्छन् ‘विद्यालयबाट क्वारेन्टिन हटाउनु पर्छ ।’ वडा नं. ४ को वडाध्यक्ष समेत रहेका उनी पछेरा गाउँमा अनलाइन कक्षा प्रभावकारी देख्दैनन् ।

उनी भन्छन्, ‘शहरतिरका लागि होला, तर हाम्रो जस्तो गाउँघरतिर यो विषयमा न अभिभावकलाई थाहा छ, न विद्यार्थीलाई ।’ उनले कतिपय विद्यार्थीहरु किताब लिनसमेत नआएकाले उनीहरुको बानी बिग्रिसक्यो कि भन्ने चिन्ता लागेको बताए ।

तत्काल विद्यालय सञ्चालनको तयारी गर्नु पर्ने बताउँछन् आदर्श गाउँपालिका–५ का अभिभावक धमबहादुर रोकाया । उनले भने, ‘अब क्वारेन्टिनमा त्यति धेरै चाप पनि छैन, थोरै मान्छेहरु छन्, तिनीहरुलाई एकान्तमा भएका घर वा गोठहरुमा व्यवस्थापन गर्न सकिन्छ र विद्यालय सुरु गर्न सकिन्छ ।’

रोकाया छिटो पढाइ सुरु गर्नु पर्ने र अनावश्यक बिदाहरु घटाएर कोर्स पूरा गर्ने व्यवस्था गर्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘दशैं तिहारको बीचमा राखिने बिदा पनि काटिनु पर्छ ।’

दिपायल सिलगढी नगरपालिका–६ का अभिभावक जनार्दन जोशी पनि कोरानाबाट बच्ने उपायहरु अपनाए÷नअपनाएको बारे कडाइका साथ अनुगमन गर्ने संयन्त्र बनाई कक्षा सञ्चालन गर्न सकिने बताउँछन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.