मिर्गौलापीडितको कथा : मर्ने कसैलाई रहर हुँदैन !

२८ असार, काठमाडौं ।

 सरकारले लकडाउन लागू गरेको अघिल्लो दिन । अर्थात, १० चैत ०७६ । नयाँ बानेश्वरको व्यस्त फुटपाथ । जहाँ घन्किरहेको थियो एउटा ‘लाउड स्पीकर’ ।

सडकमा सवारी साधनको उस्तै भीडभाड । ६ लेनको सडकभर तँछाड–मछाड गर्दै गुडेका मोटरसाइकलदेखि सार्वजनिक सवारीसममको चर्को ध्वनी । त्यो कोलाहललाई पनि चिर्ने गरी फुटपाथमा घन्किरहेको ‘लाउड स्पीकर’ले भन्दै थियो –

आदरणीय आमा–बुवा, दाजु–भाइ, दिदीबहिनीहरु म मिर्गौला पीडितको तर्फबाट नमस्कार । सिन्धुपाल्चोक जिल्ला घर भई चन्द्रबहादुर मगरको छोरा श्रीकृष्ण मगरको विगत केही वर्षदेखि दुवै मिर्गौला फेल भएको, हाल आएर आएर नेपाल मेडिकल कलेजमा डाइलासिस उपचार गरिरहेको छु । मेरो आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा सहयोगको आशा राखी म यहाँ आएको छु । हजुरहरुको सानो सहयोगले मैले नयाँ जीवन प्राप्त गर्नेछु । तसर्थ जति सक्नुहुन्छ, हजुरहरुको दया धर्मले यस मिर्गौला पीडितका लागि सक्दो सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।

(अडियोको व्याग्राउण्डमा गायक प्रेम परियारको गीत ‘मर्ने कसैलाई रहर हुँदैन…’ मन्द बजिरहेको थियो ।)

फुटपाटको रेलिङ छेउ घन्किरहेको उक्त स्पीकरको एक छेउमा टुक्रुक्क बसिरहेका एक वृद्ध । उनको मुखमा कपडाको मास्क र टाउकोमा गलबन्दी थियो । त्यो मास्कले महंगो गाडीले वेपत्ता उडाउँदै हिँडेको धुलो राम्रोसँग छेक्न सक्दैनथ्यो ।

स्पीकरको अर्को छेउमा थियो – चन्द्रबहादुर र उनको छोरीसहितको फल्याक्स प्रिन्ट । त्यहाँ जे लेखिएको थियो, रेकडेर्ड स्पीकरले त्यही बोलिरहेको थियो । दोहोर्‍याई–दोहोर्‍याई । पोस्टरमा लेखिएको एउटा कुरा भने बोल्दैनथ्यो – श्रीकृष्णको मोवाइल नम्बर ।

स्पिकरको अगाडि थियो – दोब्य्राएर अकाशतर्फ फर्काइएको एउटा बोरा । जहाँ केही दश/पाँचका नोट र १/२ दुई रुपैयाँका सिक्का जम्मा थिए । उनीहरुलाई अर्को नयाँ पैसासँग भेट हुनका लागि निकै लामो समय कुर्नुपथ्र्यो ।

अर्को दिनदेखि भने गुल्जार सडक सुनसान बन्यो । प्रकृतिलाई नै अचम्म पार्ने राजधानीका मानिसहरु चुपचाप घरभित्रै पसे । पक्कै पनि नयाँ बानेश्वरमा घन्किएको त्यो स्पीकरसमेत चुपचाप लकडाउनमै बस्यो होला ।

लकडाउनको पालना गरिरहेका श्रीकृष्णको मृगौलाले भने के भनिरहेको होला ? डायलाइसिसका लागि हस्पिटलसम्म कसरी पुगे होलान् श्रीकृष्णहरु ?

स्पीकर बन्द भएपछि उनको पेटले त खान पायो होला ? यो प्रश्नको उत्तर पक्कै पनि त्यो नम्बरले दिनेछ । जुन संसदभवन अगाडि फुटपाटको रेलिङमा लकडाउनअघि झुिण्डएको फल्याक्स प्रिन्टमा थियो ।

०००

त्यो नम्बरको फोन श्रीकृष्ण होइन, उनका बाबाले फर्काए । चन्द्रबहादुरले भने, ‘छोरा डाइलाइसिसका लागि गएको छ । शुक्रबार, सोमबार र बुधबार बाहेकको दिनमा ऊसँग भेट हुन्छ ।’

ती तीन दिन श्रीकृष्णलाई डायलाइसिसका लागि अस्पतालसम्म पुग्न दुई घण्टा र दुई घण्टा लगाएर फर्कनमै समय बित्दो रहेछ ।

 

चन्द्रबहादुरले जुराएको साइतमै भक्तपुरको सल्लाघारी पुगियो । दुई तलामाथिको कोठामा दुईतिर बसिरहेका थिए चन्द्रबहादुर र श्रीकृष्ण । कोठाको एउटा कुनामा थियो स्पीकर । लकडाउनसँगै ७० वर्षीय चन्द्रबहादुरको दैनिकी त्यही कोठामा कैद थियो ।

श्रीकृष्णले हालखबर सुनाए, ‘महिनामा चार/चार हजार रुपैयाँको दुई पाटक सुई लगाउनुपर्ने, सकिएको छैन । औषधी पूरा खान नपाएको पनि दुई महिना भैसक्यो । दैनिक एउटा गोलीले काम चलाएको छु । खान त गुन्द्रुक–आलु खाइरहेका छौँ ।’

त्यहाँ २८ वर्षीय श्रीकृष्णका छोरी र पत्नी देखिएनन् । पुलुक्क बाबाको मुखमा हेर्दै श्रीकृष्ण बोले, ‘छोरी त अहिले सात वर्षकै भैसकी । घर पठाएको छु ।’

पत्नी कहाँ छिन् ? श्रीकृष्णका बाबु–छोरालाई नै पत्तो छैन ।

०००

सिन्धुपाल्चोक निवासी श्रीकृष्णले डेढ वर्षीय प्रेमलाई विवाहमा परिणत गरेका थिए । २१ वर्षकै उमेरमा छोरी जन्मिइन् – क्रिष्टिना मगर ।

घर नजिकै चिया पसल गरेका थिए श्रीकृष्णले । गाउँ विकट थियो । तर, गाउँमा खानकै लागि मर्ने अवस्था थिएन । श्रीकृष्ण भन्छन्, ‘हामीसम्म गाडीको बाटो पनि पुगेको छैन गाउँमा । बिजुली त पोहोरमात्र पुगेको हो । पसल र केही बाख्रा पालेका थियौँ । खान पग्थ्यो ।’

जिन्दगी राम्रै चल्दै थियो । तर, २३ वर्ष पुगेपछि भने श्रीकृष्णलाई स्वास्थ्यले साथ दिएन । टाउको दुख्ने । रिँगटा लाग्ने । बान्ता हुने । खाना खायो, पेटमै नअडिने । बेला–बेला हात–खुट्टा लत्र्याक लुत्रुक हुने । सुन्निएका थिए ।

खप्नै गाह्रो भएपछि उनी नजिकैको औषधी पसलमा गए । ‘प्रेसर एकदमै बढेको रहेछ । डाक्टरले प्रेसरको औषधी दिनुभयो’, श्रीकृष्णले आफ्नो विगत सुनाउन थाले, ‘तर, औषधी खाएपछि झन् च्याप्न थाल्यो । काठमाडौंसम्म नपुगी सुखै भएन ।’

श्रीकृष्ण र चन्द्रबहादुर डेढ घण्टा हिँडेर गाडी चढ्ने ठाउँसम्म पुगे । त्यसपछिको साढे तीन घण्टामा गाडीले काठमाडौंमै ओरालिहाल्यो । उनीहरुलाई नेशनल मेडिकल कलेज पुग्न सजिलो थियो, त्यहीँ पुगे ।

तर, उनी हस्पिटलमै भर्ना हुनुपर्‍यो । स्वास्थ्य परीक्षणले श्रीकष्णले कहिल्यै नसोचेको रिपोर्ट दियो । ‘मेरो त दुईवटै मिर्गौला फेल भैसकेका रहेछन् । त्यतिबेला म भर्खर २३ वर्ष पुगेको थिएँ ।’

अब शुरु हुन्छ श्रीकृष्णको दुःखको कथा ।

परीक्षण गरी पोलिथिनमा औषधी बोकेर घर फर्कने सोचले काठमाडौं छिरेका थिए श्रीकृष्ण । तर, उनलाई त काठमाडौंमै अड्डा नजमाई भएन । एक–दुई दिनमै इमरजेन्सी अस्पतालमा पुग्नुपर्ने । घरबाट आउजाउ कहाँबाट सम्भव हुनु !

उनीसँग ओढ्ने ओछ्याउने कपडासम्म थिएन । काठमाडौँमा भएका उनका दाइले सहयोग गरे । माकलबारीमा एउटा जस्ताको टहरो भेट्टाए । कोठा भाडा मासिक– ३५ सय रुपैयाँ । श्रीकृष्ण भन्छन्, ‘एक/डेढ महिना त्यही बस्यौँ । अँगेनोमा पकाएर खायौँ ।’

दुई दिन बिराएर डाइलाइसिस । एकपटक डाइलाइसिस गरेको २५ सय रुपैयाँ । त्यसमाथि महंगो औषधी र इन्जेक्सन । यो सबै खर्च धान्न श्रीकृष्णको परिवार सक्षम थिएन ।

‘पसल बेचेँ । घरमा भएका दुई/चारवटा खसी पनि बेच्यौँ । दाइहरुले चार लाखजति सहयोग गर्नुभयो’, आफ्नो सुरुवाती दिनबारे बताउँदैछन् श्रीकृष्ण ।

सधंै मागेर कहाँ चल्छ ? श्रीकृष्णका बाबा चन्द्रबहादुर हस्पिटलदेखि जिल्ला प्रशासन कार्यालयसम्म धाएर ६ महिनामा निशुल्क डाइलाइसिसको पत्र बनाए । यसले कठिन उपचारलाई थोरै सहज बनाइदियो ।

उनी छोरालाई लिएर हस्पिटल पुग्थे । अरु दिन ज्यामी काममा धाउन थाले ।

 

श्रीकृष्णलाई सघाउन श्रीमती पनि तीन वर्षकी छोरी च्यापेर काठमाडौं आइन् । श्रीकृष्ण भन्छन्, ‘निकै दुःख थियो । मामाहरुलाई बिन्तिभाउ गरेर १५ हजार लिएर कोठामा भाडा तिर्‍यौँ । अनि माकलबारी यहाँ(भक्तपुर) सरेका हौँ ।’

विस्तारै श्रीकृष्णकी पत्नी पनि ज्यामी काममै हिँड्न थालिन् । अक्सर बालुवा चाल्ने र मुछ्ने काम पथ्र्यो उनको भागमा । कहिलेकाँही त परिवारसँग औषधी खानेसमेत पैसा हुँदैनथ्यो । तर, पनि श्रीकृष्णले डायलाइसिस भने छुट्न दिएका थिएनन् ।

लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा श्रीमानलाई जतिखेरै ओछ्यानमै लडिरहेको देख्दा पीडामा थिइन् सायद । कहिले श्रीमानसँग झगडा गर्थिन्, कहिले बेस्सरी रुन्थिन् । र, भन्थिन्, ‘खै, बाँकी जीवन कसरी चलाउने हो । न खर्च छ, न दाजुभाइले हेर्छन् ।’

श्रीकृष्णसँग उत्तर हुँदैनथ्यो । लाचार थिए । श्रीमतीलाई भन्थे, ‘के गर्ने त, म सक्दिनँ । तिमीहरुले जति सक्छौँ कमाओ । सक्छौ, उपचार गर, नत्र छोडिदेओ ।’

बिरामी भएको डेढ वर्षपछि श्रीकृष्णको जीवनमा अर्को भूकम्प आयो ।

बुबा घर गएका थिए । आमा श्रीकृष्णसँगै बसेकी थिइन् । उनी पनि बिरामी नै । श्रीमती काममा हिँडिरहेकै थिइन् । बिहान ८ बजेदेखि साँझसम्म बाहिरै हुन्थिन् ।

एकदिन काममा हिँड्ने बेलामा श्रीकृष्णकी श्रीमतीले भनिन्, ‘अब म तिमीहरुलाई पालेर बस्न सक्दिनँ । अब तिमीहरु आफ्नो सुर गर ।’

श्रीकृष्णले सम्झाउने प्रयास गरे, ‘म यस्तो बिरामी छु । यस्तो कुरा नगर । पछि निको भएपछि म पनि काम गरौँला नि !’

श्रीमतीले सुनिन् । उनी अर्कैसँग बिहे गरेर हिँडिन् । ‘तर, मैले छोरीलाई लैजान दिइनँ’ श्रीकृष्ण भन्छन्, ‘म त होसमै थिइनँ, अरु के–के भयो खै ।’

जीवनमा सबैभन्दा नजिकको मान्छेले २५ वर्षकै उमेरमा छोडेर हिँडेपछि कहाँ आओस् त होस ! श्रीकृष्ण थप बोल्छन्, ‘यो बिमार नै यस्तै हो । सबैको हेला होइन्छ । कसैले एक रुपैयाँ ला भन्दैन ।’

श्रीमतीले श्रीकृष्णलाई छाडेर गएको चार वर्ष भयो । त्यसयता छोरीलाई पढाउने जिम्मा उनका दाजु–भाउजूले लिएका छन् । तर, प्रायः श्रीकृष्णसँगै हुन्छिन् – क्रिस्टिना ।

पत्नीवियोगपछि श्रीकृष्णको हालत केही समय निकै खराब भयो । तर, वृद्ध बुबाको हात समाउँदै उनी डायलाइसिस गर्न भने पुगिरहे । चन्द्रबहादुरको मजदुरी पनि छुटेको थिएन ।

‘यो मेरो कान्छो छोरा हो । सक्दासम्म त मैले गरेकै हो । अब त हात पाखुरा पनि चल्दैन’, चन्द्रबहादुर झ्यालको पर्दा खेलाउँदै आफ्नै लवजमा भने, ‘कसैले सापटी पनि पत्याउँदैनन् । भुक्तानी (हैरानी) परेको छ ।’

एक वर्षअघिदेखि चन्द्रबहादुर ज्यामी काम गर्न काममा जान सकेका छैनन् । काम गर्न नसके पनि छोरालाई त बचाउनुपर्‍यो ! त्यसका लागि बाबु–छोराले एउटा जुक्ति निकाले ।

सडकमा स्पीकर लैजाने र मागेरै भए पनि ज्यान बचाउने । ‘चोर्न भएन, ढाट्न भएन । बाँच्ने एउटा त एउटा उपाय त गर्नैपर्‍यो’, चन्द्रबहादुर भन्छन्, ‘बाटोमा बसेपछि दया हुनेले दिन्छ, नहुनेले दिँदैन ।’

कोटेश्वर, बानेश्वर लगायतका ठाउँमा बसेर कहिले पाँच सय त कहिले १२ सय रुपैयाँसम्म बोकेर साँझ डेरा आइपुग्थ्यो चन्द्रबहादुरको बूढो शरीर ।

हप्तामा तीनपटक हस्पिटल आउँदा–जाँदा १५ सय रुपैयाँको खर्च । हप्ताको १२ सय रुपैयाँको औषधी । महिनामा तीन/तीन हजारका तीनवटा सुई । आधा पेट खाएरै भए पनि छोराको ज्यान बचाएकै थिए चन्द्रबहादुरले लकडाउनअघिसम्म ।

लकडाउनपछि भने उनीहरुको जीवनमा फेरि कालो बादल मडारियो । सार्वजनिक गाडीमा हिँड्ने श्रीकृष्ण लकडाउन अवधिभर एक्लै सकी नसकी साइकलमा हस्पिटल पुग्न थाले । उनी भन्छन, ‘साइकल डोर्‍याउन पनि नसक्ने भएपछि असारदेखि एकजना भाइसँग साइकलमा जाने गरेको छु । अस्पताल पुग्दा दुई घण्टा लाग्छ ।’ अर्कोतर्फ खर्चले किचेको किचेकै छ ।

बुबा चन्द्रबहादुर भन्छन्, ‘पुलिसले बाहिर निस्कनै दिएन । काम गर्न पनि पाइएन । त्यही पनि एक हप्तादेखि त खुट्टा सुन्निएर हिँड्नै नसक्ने भएको छु ।’

डाइलाइसिसकै भरमा भए पनि अहिलेसम्म बाँचिरहेकै छन् श्रीकृष्ण ।

अहिलेसम्म उनले जेनतेन दिनहरु घँचेटे । दिदीले दिने भनेको मिर्गौला उहिल्यै प्रत्यारोपण गर्न सकेको भए सायद यति कठिन दिनहरु झेल्नुपर्दैनथ्यो ।

‘दिदीले त अहिले पनि मिर्गौला दिन्छु भनिरहनुभएको छ । आफूसँग रकम नभएपछि के गर्ने ?’, श्रीकृष्ण उत्तरको अपेक्षा नराखी प्रश्न गर्छन्, ‘प्रत्यारोपण गर्न ६ लाख रुपैयाँ लाग्छ रे । कहाँबाट ल्याउने त्यति धेरै रकम ?’

Recommended For You

Leave a Reply

Your email address will not be published.