(कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो

४ असार, काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो । कोरोना रोगबारे मात्र होइन, यसविरुद्ध औषधि तथा खोप विकासलाई लिएर पनि धेरै अफवाहहरू आउने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै एउटा अफवाहको शिकार भएको पाइएको छ । त्यो हो इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज

चैतमा जतिबेला नेपालले भर्खर लकडाउन सुरु गरेको थियो, इटाली कोरोनाबाट आक्रान्त भइसकेको थियो । संक्रमितको संख्या मात्र होइन, मृतकको पनि संख्याको ग्राफ उकालो लागिरहेका बेला सामाजिक सञ्जालमा इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको भन्ने एउटा पोस्ट भाइरल भएको थियो ।

इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोस्टहरूमा भनिएको थियो, ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । सम्भवत: सबै प्रयासहरू सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन ।’ योसँगै भाइरल बनेको थियो, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर ।

बिहीबार राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले त्यही भाइरल पोस्टलाई टेकेर राष्ट्रिय सभामा अभिव्यक्ति दिएका छन् ।

भारतबाट आएकाहरूको उचित रुपमा क्वारेन्टिन हुन नसकेको भनेर भइरहेको आलोचनाप्रति इङ्गित गर्दै उनले जेठमा मात्र दुई लाख ४४ हजार मानिस आएको र यति ठूलो संख्यामा मानिहरूको क्वारेन्टिन दुनियाँको कुनै देशले गर्न नसक्ने बताए ।

उनले भने, ‘आइसोलेसनमा राख्दा पनि इटालीजस्तो देशले सडकमा लगेर राख्नुपर्‍यो । आईसीयूको सेवा सडकमा दिनुपर्‍यो । भेन्टिलेटरमा बस्नुपर्ने अवस्थामा मात्र ल्याउनू, नभए ठाउँ छैन नल्याउनू । आइसोलेसनमा बस्नू भनेर विकसित देशहरूले घर पठाउनुपर्‍यो । हामीले यस तहमा हात उठाइसकेका छैनौं ।’

‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं’ उनले अघि भने ।

प्रधानमन्त्रीको संकेत इटाली राष्ट्रपतिको भाइरल तस्वीरहरूतर्फ भएको सहज अनुमान लगाउन सकिन्छ ।

जबकि दुवै समाचार तथ्यहीन थिए ।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.