आरडीटी गरेर पठाइएका धादिङमा ९ जना कोरोना संक्रमण पुष्टि

१ असार, काठमाडौं 

आरडीटी गरेर घर पठाइएका धादिङका थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा नौ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबारमात्रै धादिङको नीलकण्ठ नगरपालिकाको क्वारेन्टिनबाट आरडीटी गरेर पठाइएका २४ जनामा संक्रमण पुष्टि भएको थियो । नगरपालिकाकाका अनुसार कुल ७५ जनामध्ये २४ जनाको पोजेटिभ आएको थियो भने ८१ वटा स्वाबको नतिजा आउन बाँकी थियो । त्यसमध्ये सोमबार थप नौ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

नगरपालिकाका प्रमुख भीम ढुंगानाले आरडीटी गराएर घर पठाएकाहरूको नै रिपोर्ट पाजेटिभ आएको जानकारी दिए । ‘पहिले पीसीआर किट नपाउँदा हामीले आरडीटी गरेर घर पठाएका थियौं,’ उनले भने, ‘अब हामीले आरडीटीलाई घोषित रुपमा नै नगरपालिकामा बन्द गराएका छौं ।’

ढुंगानाका अनुसार वडा नम्बर १४ का एक जना, वडा नम्बर २ का दुई जना, वडा नम्बर ५ का तीन जना, वडा नम्बर ७ का दुई जना र वडा नम्बर १० का एक जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित भेटिएका गाउँलाई नै सिल गर्न सुरु गरिसकिएको नगरप्रमुख ढुंगानाले जानकारी दिए । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.