धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि

३० जेठ, काठमाडौं ।

धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना महिला र २५ जना पुरुष रहेको गाउँपालिकाले जनाएको छ ।

१६ दिनअघि भारतबाट आएका ६८ जना क्वारेन्टिनमा रहेकाहरूमध्ये २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले गाउँपालिकाको समन्वयमा २७ जनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको जानकारी दिए ।

कुल संक्रमितमध्ये सुनखानी मावि क्वारेन्टिनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माविमा रहेको क्वारेन्टिनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।

पीसीआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएका बाँकी सबैलाई दुई हप्ता होम क्वारेन्टिनमा बस्नेगरी घर पठाउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए ।

योसँगै धादिङमा कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.