गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाउँदै कारवाहीको चेतावनी दिए पनि आन्दोलन घट्नुको साटो झन् बढ्यो

३० जेठ, काठमाडौं ।

केही दिनयता बालुवाटारबाट सुरु भएको सरकारविरोधी प्रदर्शनको ज्वाला देशभरिका शहरमा सल्किएको छ । गृह मन्त्रालयले प्रदर्शनमा रोक लगाउँदै कारवाहीको चेतावनी दिए पनि आन्दोलन घट्नुको साटो झन् बढ्न थालेको छ ।

अहिलेसम्म आन्दोलन कसले गरेको भनेर सरकारले पत्तो लगाउन सकेको छैन । प्रहरी र गुप्तचर निकायको बनिबनाऊ जवाफ छ- आन्दोलनमा घुसपैठ भयो Û तर, कसको घुसपैठ ? यसबारे सरकारी संयन्त्रले विश्लेषणै गर्न सकेको छैन

आन्दोलन कसले उठायो, किन उठ्यो र यसको समाधान कसरी हुन्छ ? अब यो केही दिनमा सेलाउँछ या अरु चर्किन्छ ? सरकारले विपक्षीलाई औंलो ठड्याउँदैमा यो आन्दोलन सेलाउला ? यसबारे सरकारी संयन्त्रहरु विश्लेषणै गर्न नसकेर कुहिरोको कागजस्तै बनेका छन् ।

आन्दोलनको मुस्लो रोकिने छाँटकाँट देखिएको छैन । जेठ ३० देखि असार ३ सम्म विभिन्न सहरमा प्रदर्शनहरु घोषणा भएका छन् । एक सातामा प्रदर्शनकारीहरुको फेसबुक ग्रुपमा डेढ लाख सदस्य बनिसकेका छन् ।

बालुवाटारबाट यो आन्दोलन कसरी उठ्यो र एकाएक सलहजसरी कसरी देशभरि फैलियो ? यसबारे चर्चा गर्नुपूर्व यो आन्दोलनका केही नयाँ परिदृश्यबारे चर्चा गरौं ।

कसैले पनि जिम्मेवारी नलिई स्वतस्फूर्त उठेको आन्दोलनमा युवायुवतीले बोकेका प्लेकार्ड र त्यसमा उल्लेखित नाराहरु अहिले सामाजिक सञ्जालमा आलोचना र बहसको विषय बनेका छन् । नाराहरु गैरराजनीतिक प्रकारका र कतिपय ‘स्लाङ्ग वर्ड’ (अपशब्द) हरुसमेत प्रयोग भएका छन् । सरकारविरुद्ध विभिन्न प्रकारले आक्रोश पोखिएका छन् ।

तोडफोड र हुलहुज्जत नगरिकनै शान्तिपूर्वक प्रदर्शनहरु कतिपय ठाउँमा अनुशासित र सामाजिक दुरी कायम गरेर प्रदर्शनहरु भएका छन् । तैपनि अहिलेसम्म नदेखिएको अनौठो परिघटना भएकाले होला, प्रदर्शनकारीले प्रयोग गरेका भाषालाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published.