सरकारी २ किलो चामलले २ महिना कट्यो, अब के खाने ?

२५ जेठ, काठमाडौं । वर्षे झरीजस्तै रातभर परेको पानि भर्खर रोकिएको छ । साना झुप्राहरु पानीले लुथ्रुक्कै भिजेका छन् । बस्ती पस्ने गोरेटोमा पानी  जमेको छ । नजिकै रहेको वागमतीमा भेल उर्लिएको छ ।

काठमाडौंको थापाथलीमा रहेको सुकुमबासी बस्तीमा केही अधबैंशे तथा युवा पुस्ता चेस खेलिरहेका छन् । भर्खरै झरी रोकिएकाले धेरै त घरभित्रबाटै बाहिरै निस्किएका छैनन् । कोही चुहिएको छानो टाल्नमा व्यस्त छन् ।

बिहानसम्म झरेको झरीपछि दिन उघ्रिएका जस्तो भइसकेको थियो । महिलाहरु त्यही मौकामा कपडा धुन बसेका देखिन्थे । बालबालिकाहरु कोही चंगा उडाउने प्रयास गर्दै थिए त कोही डोरीमा उफ्रिएर खेलिरहेका थिए ।

ठाउँ उही, व्यक्ति उही तर ७० दिनपछिको पछि सुकुमबासी बस्तीमा पुग्दा परिवेश फरक थियो । हामी यसअघि १५ चैतमा त्यस बस्तीको अवस्था बुझ्न पुगेका थियौं ।

७० दिनअघि बस्तीका नागरिकमा  कोरोना र ‘लकडाउन’ का विषयमा निकै कौतुहलता थियो ।

 

लकडाउन कहिले खुल्लाभन्दा पनि त्यहाँ कसले राहत ल्याइदेला भन्ने आश धेरैको छ । लकडाउन जहिले खुलोस् मतलव छैन । अहिले उनीहरु ढुक्कले बसेका छन् । जेनतेन गुजारा चले पुगिहाल्ने उनीहरुको सोच छ । यतिबेला उनीहरुलाई कोरोनाको सँगै पानीको चिन्ता छ ।

धेरैजसो ज्याला मजदूरी गर्ने परिवार रहेको त्यस बस्तीमा ७० दिनअघि अब के गर्ने भन्ने चिन्ता थियो, त्यो भने अहिले थिएन ।

  यो पनि पढ्नुहोस ‘रोगले होइन, भोकले मरिने चिन्ता भयो !’

‘यतिधेरै दिन त टर्यो, अब जे होला त्यही पर्ला’ बस्तीमा भेटिएका एक अधबैंसे व्यक्तिले सुनाए ।

‘राहत लिएर आउनुभएको हो ?’ अर्का व्यक्ति हत्त न पत्त दौडिँदै आएर सोधे । ‘हामी सञ्चारकर्मी हौँ, समाचार संकलनका लागि आएको’ उनीहरुलाई बुझाउने कोशिस गर्यौं । ‘अनि माइक पनि छ त ?’ ती व्यक्तिले क्यामेराको बुमतिर देखाउँदै भने ।

केही पोका राहत बोकेर जाने र फोटो भिडियो खिच्नेहरुको लहरै चलेको रहेछ । उनलाई त्यस्तै लाग्यो । त्यहाँ भेटिएका अधिकांशहरुको गुनासो नै पर्याप्त राहत पाइएन भन्ने छ ।

 

बस्तीका अध्यक्ष चन्द्रबहादुर लामाले सरकारी टोलीले एकपटक एक पोका बाहेक अरु राहत नबाँडेको गुनासो सुनाए । यद्यपि, विभिन्न संघ संस्थाहरुले दिएको चामल पकाएर अहिले पनि खाइरहेको अध्यक्ष लामाले सुनाए ।

‘सरकारले त खै केही गरेन, वडाबाट एक पोका चामल आएको हो त्यसले कति दिन पो पुग्यो र,’ अध्यक्ष लामाले भने, ‘अन्य संघ संस्थाहरुले भने राहत दिएकै हुन्, अहिलेसम्म जसोतसो खाइएको छ ।’

१४० परिवारलाई आश्रय दिएको यो सुकुमबासी बस्तीका बासिन्दाको घर भनेकै टहरा हो । एक हजार ५ सय जनाको आवादी भए पनि किनमेल गर्ने ठाउँ छैन । अधिकांशको पेशा भनेकै दैनिक ज्यालादारी मजदुरी हो । दिनभरि पसिना बगायो, साँझको छाक टार्यो । एकाध परिवारले धेरैथोरै वचत पनि नगरेको होइन । तर, वचत गर्ने परिवार संख्या औंलामा गन्न सकिनेछ ।

वर्षा मौसम लागेसँगै उनीहरुलाई अब खानेकुराको सँगै बस्नको चिन्ता पनि उत्तिकै छ । धेरेको घरमा पानी चुहिन्छ । ‘वर्षामा पानी चुहिएर हैरान बनाउँछ, पालले ठूलो पानी थेग्न सक्दैन’ लामा भन्छन्, ‘स्थायी संरचना बनाउन सरकारले दिदैन, जर्बजस्ती बनाउँदा पनि भोलि सरकारले भत्काइदेला ।’

 

वर्षामा पानी छिर्ने समस्याबाट मुक्ति पाउन सके ढुक्क हुने उनले सुनाए । अझै काम गर्न नपाउने भए वडाले राहत दिनुपर्ने उनको माग पनि छ । ‘वडाले थोरै राहत दियो, त्यो उतिबेरै सकियो’ उनले भने, ‘कम्तिमा महिनामा एक पटक वडाले दिनुपर्छ ।’

अन्य संघसंस्थाले नदिने र वडाले पनि एक पटकमात्रै दिने हो भने खानकै ठूलो समस्या हुने उनी बताउँछन् ।

कुन दिन हावा पानी आएर छाना उडाइदेला भन्ने डरमै बस्नु परेको उनी सुनाउछन् । बस्तीमा उपाध्यक्ष सुमन चौधरी कोरोनाको चिन्ता आफ्नो बस्तीमा भन्दा पनि देशलाई धेरै भएको बताउFछन् ।

उनले बस्तीमा कोरोनाको भन्दा पनि अन्य समस्याको डर भएको सुनाए । ‘कोरोनाको डर त सबैतिर छ, यो कुरामा हामीले पनि सहयोग गर्नु पर्छ,’ चौधरी भन्छन्, ‘हामीलाई मुख्य चिन्ता कोरोनाको भन्दा पनि खाना बस्नकै छ ।’

लामालाई जस्तै उनलाई पनि छाना उडाइदेला कि भन्ने चिन्ता छ । कोरोनाको कारण भने खासै समस्या नरहेको उनी सुनाउँछन् । छेउको अर्को एउटा परिवार छानोलाई दह्रो बनाउने काममा खटिएको थियो ।

 

दुई किलो चामलले कति दिन पुर्‍याउनु ?

बस्तीमा महिलाहरुको एउटा समिति बनाइएको छ । त्यो समितिको अध्यक्ष हुन् कमला जुम्बा । उनले फारम भर्न नपाएको कारण महानगरले दिने राहत लिन पाइनन् । पाएको भए पनि त्यसले खासै केही नहुने बताउँछिन् ।

‘म दीर्घरोगी हुँ, शुरुमा धेरै डर भएकाले म घरभित्रै बसेँ घरमा आमाछोरी मात्रै छौं,’ उनले भनिन्, ‘महानगरले प्रतिव्यक्ति २ किलो चामल दिन्थ्यो, मैले लिन पाइन्, लिएको भए पनि खासै केही नहुने रहेछ ।’

बस्तीकी महिला नेतृत्व भएकी कारण अहिले उनलाई अन्य महिलाको समस्याका बारेमा भने चिन्ता छ । २ किलो चामलका भरमा राज्यको संरक्षण नपुग्ने भन्दै राज्यले राहत थप दिनुपर्ने उनले बताइन् ।

‘यहाँ धेरै महिलाहरुमा समस्या छ, सरकारले दिएको २ किलो चामलले २ महिना त कटायौं अब कसरी बाँच्ने ?’ उनी भन्छिन्, ‘सरकारले यतिमात्रै बाँडेको त अर्थ भएन, कमसेकम महिनामा एकपटक त बाँड्नपर्छ ।’

राज्यकै भर भने आफू नपर्ने बताइन् । सकेसम्म आफूहरु आफ्नै परिश्रममा रमाउने चाहाना भए पनि बाध्यताले राहतको आश गर्नु परेको उनी बताउँछिन् । उसो त उनी लकडाउनको अवधिमा पनि खाली बसिनन् ।

उनले आफ्नो श्रमलाई उत्पादनमा खर्चिइन् । अहिले उनले फलाएको साग खाउँखाउँ भएको छ, मकै पनि हलक्कै बढेर घर अगाडि हरियाली भएको छ । अनलाइनखबर वस्तीमा पुग्दा उनी मकैको विरुवा गोडमेल गर्दै थिइन् ।

फोहोरको थुप्रो हुने ठाउँको सदुपयोग गरेर हरियाली बनाउन आफू सफल भएको भन्दै उनले खुसी व्यक्त गरिन् । ‘लकडाउन अघिसम्म यो फोहोर फाल्ने ठाउँ हो, फोहोरको डंगुर लाग्ने ठाउँमा मैले मकै र साग रोपे’ कमलाले भनिन्, ‘म फुर्सदमा थिएँ, लकडाउनको सदुपयोग पनि भयो केही छाक मात्रै भए पनि तरकारी खान पाइयो ।’www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.