सुरक्षित बनाउन भन्दै गरिएको निर्णय असर बजारमा देखियो तरकारी भयो महँगियो ।

कोरोनाबाट पोखरा महानगरलाई सुरक्षित बनाउन भन्दै गरिएको निर्णयको असर बजारमा देखियो । तरकारी अभाव भयो । मूल्य महँगियो ।

पोखरा — जेठ ११ मा पोखरा महानगरपालिकाले कास्कीबाहिरबाट तरकारी आयातमा रोक लगाउने निर्णय गर्‍यो । कास्की र वरपरका जिल्लाको उत्पादनले समेत तरकारीको माग नधान्ने जान्दाजान्दै महानगरले उक्त निर्णय गरेको थियो । कोरोनाबाट महानगरलाई सुरक्षित बनाउन भन्दै गरिएको निर्णयको असर बजारमा देखियो ।

तरकारीको अभाव भयो । मूल्य महँगियो ।जेठ १३ को राति पृथ्वीचोकको बास्तोला कम्प्लेक्समा थोक तरकारी बजार चलाउँदै आएका हरि गौतमले कास्की बाहिरबाट तरकारी ल्याए । वडा नम्बर ९ का स्थानीयले महानगरको निर्णयको सहारा लिँदै तरकारी बोकेको गाडीलाई धपाए ।

गौतमले वडा १५ मा रहेको घरमा तरकारी राखे । जेठ १५ मा उनले थप तरकारी चितवनबाट ल्याए । स्थानीयले तरकारी बोक्ने ट्रक कब्जा गरे । वडाध्यक्ष प्रकाश पौडेललाई खबर गरे । वडाध्यक्षले वडा प्रहरी कार्यालय रामबजारमा जानकारी गराए । प्रहरीले तरकारी बोकेको ट्रक रोक्यो । वडाध्यक्षकै निर्देशनमा एक्स्काभेटर बोलाइयो । खाल्डो खन्न लगाइयो । वडाध्यक्ष, आमा समूह, युवा क्लब, टोल विकास संस्थाको रोहबरमा ६ ट्रक तरकारी पुर्ने काम भयो ।

वडाध्यक्ष पौडेल महानगरले नै बाहिरी जिल्लाबाट तरकारी ल्याउन निषेध गरेको अवस्थामा रातारात ल्याएकाले पुर्नुपरेको बताउँछन् । कोरोना संक्रमण भेटिएका जिल्लाबाट तरकारी ल्याउँदा स्थानीय जोखिममा पर्ने उनको तर्क छ । आफूले तरकारी जहाँबाट ल्याएको हो, त्यहीँ फिर्ता गर्छु भन्दासमेत नदिएको व्यवसायी हरि गौतमको भनाइ छ । ‘भारतबाट आएको कागती र प्याज बजारमा छयापछयाप्ती छ,’ उनले भने, ‘मैले आफ्नै देशमा फलेको तरकारी बेच्छु भन्दा पनि पाइनँ ।

’ १ सय २५ क्रेट गोलभेंडा र ६० बोरा अन्य तरकारी आफ्नो मञ्जुरीबेगर गाडिएको उनले बताए । महानगरले निर्णय गरेपछि तरकारी मन्डीका सटर बन्द छन् । ‘अरूले पनि तरकारी ल्याएर बेचेको देखेँ,’ उनले भने, ‘मैले पनि थोरै व्यवसाय गर्छु भन्दा यस्तो भयो ।’

Recommended For You

Leave a Reply

Your email address will not be published.